युवराज घलेभाई
मन केही हलुका भएपछि
जब थाहा भइसक्छ
अवसाद पनि तिम्रै हो
आस्वाद पनि हो
मनको दैलोमा छाँद हालेर
कल्पना आउँदछ ।
मेरो कुनै सपनाको शहर भएदेखि !
त्यहाँ आइपुग्न आतुर छोराहरू छोरीहरू
अभिनयको उत्साह लिएर
गीतको गला र ओंठ लिएर
केही कविता
केही अर्थ भरिएका हरप र लहर
लिएर
अलिकति शुरुआतको लज्जा
मेरी गुराँस छोरीहरुको गालामा
हिज्जेहरुको गल्तीमा झुकेका छोराहरू
उनीहरूको शिरमा हात राखेर भन्नु
ए छोरीहरु – छोराहरु
यही हो तिमीहरूको सपनाको शहर ।
कहाँ पुग्छौं टिस्टा र रङ्गित
थाहा छैन मलाई
तर तिमीहरू शुरु हुने यही हो ।
कसरी गाउँछौं जीवनको गीत
तर संगीतको शहर यही हो
सिर्जनाको मेरो क्रान्ति यही हो ।
कति हाँक्न सक्छौं थाहा छैन
बेली चमेली छोरीहरु
तिमीले हाँक्ने आकाशको आरम्भ
यही क्षितिजमा छ ।
लालीमा कति छर्छौ कुन्नि
तिम्रो सूर्योदयको डाँडा यही हो
कति टिप्न सक्छौं कलाको शीत
तिम्रो अँजुलीको धरती यही हो ।
त्यस काल्पनिक सपनाको शहरमा
निश्छल तर साहसी छोराहरूले भन्नेछन्
कि ए मेरो पूर्खा !
मसित अलिकति स्वर छ
मलाई तिमीले गीत देऊ
मसित अलिकति उच्छवास छ
मलाई केही मुर्च्छना देऊ
मसित जीवन छ त्यसमा कथा भरिदेऊ
मसित दह्रिएर टेक्ने पाइताला छ
मलाई एउटा गन्तव्य देऊ
मलाई निकास देऊ
मलाई कला र सिर्जनाको निसाफ देऊ ।
गान्तोक, सिक्किम