मकवानपुर, २९ फागुन । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा निवदेन दिएको १ वर्षसम्म पनि विद्युतको पोल नपुगेपछि स्थानीय आक्रोशित बनेका छन् ।

बकैया ७ हात्तिखोला धमिले स्याङ्तान टोल हुँदै हर्दा जोड्ने बस्तीमा पर्ने शाखा सडक खण्डमा प्रयोग गरिएको काठको पोल धमिराले खाने र मक्किने भएपछि धमिले टोल विकास समितिका अध्यक्ष राजकुमार स्याङ्तान सहितको टोलीले विद्यूतको पोल माग गर्दै नेपाल विद्युत प्राधिकरणमा निवदेन दिएका थिए । तर त्यसको १ वर्ष सम्म पनि पोल नपुगेपछि उनीहरु आक्रोशित भएका हुन् ।

काठको पोल जिर्ण भएपछि सडक छेउमा आउजाउ गर्न समेत डरलाग्दो अवस्था भएको स्थानीय बताउँछन् । धमिराले खाक्रो भएको पोल जुनसुकै बेला ढल्न सक्ने भएकोले चैत बैशाखको हुरी थेग्न नसक्ने अवस्थामा भएको स्थानीयहरु बताउँछन् । यसबाट गम्भिर समस्या आउनसक्ने देखिएको छ । जंगलका छेउमा भएका काठका जिर्ण पोल जुनसुकै बेला ढल्ने अवस्थामा रहेको छ ।

अध्यक्ष स्याङ्तानले सामाजिक सञ्जालमार्फत नेपाल विद्यूत प्राधिकरण हेटौँडालाई खबरदारी सन्देश समेत लेखेका छन् । उनले आफुले ७ पटक भन्दा बढी पटक विद्युत प्राधिकरणमा गएर पोल माग गर्दा समेत पोल छैन भन्ने जवाफ आएको आरोप लगाएका छन् ।

अहिले नेपाल विद्युत प्राधिकरणले बकैया ७ का लागि १० वटा पोल दिने सूची तयार पारेको भएता पनि त्यो पोल पर्याप्त नभएको स्याङ्तानको भनाई छ । १० वटा पोल पनि समयमै प्राप्त भएमा जिर्ण पोल छनौट गरी नयाँ पोल राख्ने योजना भएको उनले बताए ।