मकवानपुर । प्रतिनिधिसभाका सांसदहरुले सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षकको दरबन्दी नहुँदा यस वर्ष एसईईको परिक्षामा धेरै विद्यार्थीहरु फेल भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले शिक्षकको कमि भएको भन्दै तत्काल शिक्षक दरबन्दी बढाउन सरकारसँग माग समेत गरेका छन् ।

देशैभरका सामुदायिक विद्यालयहरूमा शिक्षक अभाव हुँदा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा धेरै विद्यार्थी अनुत्तीर्ण भएको भन्दै त्यसतर्फ सरकार मौन रहन नहुने उनीहरुले बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गणित, विज्ञान र अङ्ग्रेजी विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएकाले तत्काल यी विषयका शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै वैदेशिक रोजगारीमा गएका युवाहरूले विभिन्न देशमा ज्यान गुमाउनुपरेको भन्दै सांसदहरुले सरकारले युवाहरूका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले धार्मिक पर्यटन बढाउन सरकारले विशेष योजना ल्याउनुपर्ने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू लगायतलाई घरघरमै गएर राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था मिलाउनुपर्ने, किसानहरूलाई रासायनिक मल सहजरुपमा पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा जल स्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलस्रोत विधेयक २०८१ प्रस्तुत गरेकी थिईन् । प्रतिनिधिसभाको अर्को बैठक असार १६ गते आइतबार दिउँसो ३ बजे बस्नेछ ।