मकवानपुर । नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तिज भड्किलो भएकोमा एकीकृत समाजवादीका नेताहरुले चिन्ता व्यक्त गरेका छन् । अखिल नेपाल महिला संघ जिल्ला तथा नगर कमिटीको संयुक्त आयोजनामा हेटौंडामा गरिएको तिज शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेताहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
अरुको देखासिखी गर्ने, अश्लिल गितहरुमा नाच्ने, अर्धनग्न हुनेगरी पोशाक लगाउने, अचाक्ली मदिरा सेवन गर्ने जस्ता गतिविधिले गर्दा तिजको गरिमा गिराएको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले तिज दिदीबहिनीहरुको दुःखसुख , मनको बह पोख्ने पर्व भएको बताउँदै यसलाई भड्किलो बनाउन नहुने बताउनुभयो ।
तिजको शुभकामना दिँदै उहाँले यस्तो मनसाय व्यक्त गर्नु भएको हो । यस्तै अनेम संघकी केन्द्रिय सदस्य सीता अधिकारीले तिजमा भड्किलो गरगहना, लुगा, भड्किलो रवाफ देखाएर जथाभावी प्रदर्शन गर्नु, ऋण काडेर परिकारहरु बनाएर खानु तिजको नाममा विकृति भएको बताए ।
पार्टीका जिल्ला अध्यक्ष विष्णु दाहालले विकृती रहितको तिज मान्न आग्रह गर्नुभयो । अनेम संघ जिल्ला कमिटी उपाध्यक्ष शुक्रदेवि बलको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष कल्पना विश्वकर्मा , सचिव धुर्व भुजेल, उपसचिव कबिन पन्त, पार्टीकी नगर अध्यक्ष विष्णु माया लामा लगायतको आतिथ्यता रहेको थियो ।