मकवानपुर । चाडपर्व नजिकिएसँगै भारतबाट अवैध रुपमा भन्सार छलि ल्याइएका लत्ताकपडाहरु मकवानपुरको हेटौँडा हुँदै काठमाडौँ भित्रिन थालेको घटना बढ्दै गएको छ । अरु समयमा पनि पर्साको बिरगंज नाका तथा रौतहटका विभिन्न नाकाबाट भन्सार छलेर कपडाहरु नेपालमा भित्रिने गरेका छन् । खासगरी चाडपर्वको बेलामा अझ यस्ता घटना घट्ने गरेको पछिल्ला समयमा सार्वजनिक हुन थालेका छन् ।

प्राय लागुऔँषध र भन्सार छलेको लत्ताकपडासहित तस्करहरु पक्राउ परिरहने हेटौँडा १५ रातोमाटे चेकपोष्टमा केही दिन अघि भन्सार छलेर ल्याइएका अन्दाजी मुल्य १ करोड ३५ लाख बराबरको लत्ताकपडा तथा सवारी साधन सहित २ जना मानिस नियन्त्रणमा लिइएको छ । भन्सार नाकामाबाट यी सामानहरु कसरी हेटौँडासम्म आईपुगे भन्ने कुरामा खासै अनुसन्धान भएको पाइएको छैन ।

प्रहरीका अनुसार असोज २ गते करिब ३ बजेको समयमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले रातोमाटे चेकपोष्टस्थित सडकमा सुनसरीबाट हेटौडा हुँदै काठमाण्डौ जाँदै गरेको नम्बरको भारतिय ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकका चालक भारतको बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पुर्वी चम्पारण सपही बस्ने बर्ष ३० का जन्दार आलम र सहचालक थाना बन्जरिया पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने बर्ष १९ का मुना मियालाई पक्राउ गरिएको हो ।

उनीहरुको शरीर तथा उक्त ट्रक समेतको खानतलासी गर्दा ट्रकमा जम्मा ३४५ बोरा आलुको भन्सार बिल काटेर सो ट्रकमा प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखी भित्री भागमा लुकाई छिपाई गरी जम्मा ७४ बोरा विभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एंव पाईन्टको कपडाहरु ल्याएको पाईएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार भन्सार छलि ल्याईएका लत्ता कपडाहरु, आलुका बोराहरु र भारतिय ट्रक सबैलाई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।