मकवानपुर । मकवानपुर जिल्लामा पहिलो पटक आयोजना भएको भेट्रान्स भलिबल प्रतियोगिताको उपाधी नारायणी कलेजले जितेको छ । हेटौंडाको हुप्राचौरमा भएको फाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै नारायणी कलेज भेट्रान्स भलिबलको च्याम्पियन बन्न सफल भएको हो ।

पहिलो सेट २५–१८ ले गुमाएको नारायणी कलेजले दोस्रो सेट २५–११, तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले विजयी बन्न सफल भयो । कार्यक्रममा प्रमुख अतिथि रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले विजेता टिम नारायणी कलेजलाई नगद ३० हजार रुपैयाँ र उपविजेता टिम भीमफेदी गाउँपालिकालाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

सेमिफाइनल खेलमा नारायणी कलेजले मकवानपुरगढी गाउँपालिकालाई २५–१६, २५–१७ र २५–१३ को सोझो सेटले पराजित गर्दै नारायणी कलेज फाइनल प्रवेश गरेको थियो । यसैगरी दोस्रो सेमिफाइनल खेलमा भीमफेदी गाउँपालिकालाई हेटौंडा १९ ले वाक ओभर दिएपछि भीमफेदी सिधै फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ द डे मकवानपुरगढीका खेलाडी शंकर गौतम घोषित भए । उक्त पुरस्कारको प्रायोजन हेटौंडा १० मा रहेको नारायणी कलेज तथा तुल्सी मेहर माध्यमिक विद्यालयले प्रायोजना गरेको थियो ।

प्रतियोगितामा भीमफेदी गाउँपालिकाका रत्न सिद्धि लामा उत्कृष्ट स्पाइकर, नारायणी कलेजका प्रकाश चौलागाई उत्कृष्ट खेलाडी, विनोद श्रेष्ठ उत्कृष्ट लिफटर र नविनराज बाहक उत्कृष्ट डिफेन्डर, ईश्वर छत्कुली उत्कृष्ट कोच घोषित भए । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका ११ वटा टिमको सहभागिता रहेको थियो ।