मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ रमन्थलीमा नकाउट फुटबल प्रतियोगिता जारी छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ टुटेपानीस्थित सञ्जीवनी युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो ।
असोज ८ गतेदेखि सुरु भएको खेलको विजेताले मेडल र ट्रफी सहित ३० हजार रुपैयाँ नगद र उपविजेताले मेडल र ट्रफी सहित १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
खेलको दोस्रो दिन हिजो भएको खेलमा रमन्थली टोल विकास संस्था विजयी भएको छ । रमन्थलीले समृद्धि टोल विकास संस्थाको टिमलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको उत्कृष्ट खेलाडी रमन्थलीका सुनिल थिङ भएका छन् ।
प्रतियोगिता अन्तर्गत आज पहिलो खेल सिरान टोल विकास संस्था र समाजसेवी टोल विकास संस्थाबिच र दोस्रो खेल गौरब टोल विकास संस्था र शान्ति समाज टोल विकास संस्थाबिच हुँदैछ ।