मकवानपुर । मकवानपुरबाट सामाजिक कार्यक्रममा सक्रिय संस्था सहयोगी मन नेपालको टोली करिब एक हप्ते सचेतना कार्यक्रम सकाएर हेटौँडा फर्किएको छ । गएको बुधबारबाट एकहप्ते ‘राजमार्ग सवारी दुर्घटना न्युनिकरण सचेतना तथा शुद्ध सनातन रक्षा शान्ति दिप सचेतना कार्यक्रम’ लिएर नेपालका विभिन्न स्थानमा पुगेको टोली आज हेटौँडा फर्किएको हो ।

सचेतना कार्यक्रम अन्तर्गत बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका विभिन्न स्थानमा पुगेको टोलीले दुर्घनाको उच्च जोखिम भएका क्षेत्रहरुमा सचेतना कार्यक्रम गरेको थियो । कार्यक्रम संचालनका क्रममा आफुहरुले सोचेको भन्दा राम्रो प्रतिक्रिया आएको बताउनुहुँदै सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौँलागाईँले कार्यक्रमबाट राम्रो नतिजा प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो ।

विभिन्न जिल्लामा भएको कार्यक्रममा ट्राफिक प्रहरीहरुको समेत साथ पाएको बताउनुहुँदै अध्यक्ष चौँलागाईले सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम अझै समय समयमा गर्न आवश्यक रहेको महशुस भएको बताउनुभयो । कार्यक्रम सोचेको भन्दा राम्रो भएपछि आफुहरु यस्तो सहयोगी कार्यक्रमको आयोजना गर्न अझै उत्प्रेरित भएको उहाँले बताउनुभयो ।

सचेतना कार्यक्रमका क्रममा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सहयोगी मन टोलीलाई सम्मान गरेका ेथियो । नेपालगञ्ज पुगेको टोलीलाई सामाजिक विकास मन्त्री जन्मजय तिमल्सिनाकोले कदर पत्र सहित सम्मान गर्नुभएको थियो । त्यस क्रममा मन्त्री तिमल्सिनाले सहयोगी मन नेपालको अभियान र कार्यको प्रशंसा गर्दै अझै यस्तै कार्यक्रमहरु देशलाई खाँचो रहेको बताउनुभएको थियो । मन्त्री तिमल्सिनाले मानव सेवा नै सर्वोत्तम हो भन्ने मर्मलाई आत्मसात गर्दै विपदमा परेका दीनदुःखी असहायलाई तत्काल राहत पुर्याउँदै उल्लेख्य भूमिका निर्वाह गरी परोपकारी भावनाले अहोरात्र क्रियाशील भएको भन्दै संस्था र यसको योगदानप्रति उच्च मूल्याङ्कन समेत गर्नुभयो ।

त्यस्तै बर्दियाको बारबर्दिया नगरपालिकाले पनि टोलीलाई कदर सहित सम्मान गरेको थियो । बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारु र नगरउपप्रमुख रत्नाकुमारी पाण्डेको टोलीले सहयोगी मन नेपाल टोलीलाई सम्मान गर्नुभएको हो । सचेतना टोलीले बारबर्दिया नगरपालिका सहित अन्य स्थानमा पनि वृद्धवृद्धाहरुलाई आवतजावत गर्न सजिलो होस् भन्ने उदेश्यसहित आधुनिक लौरीहरु वितरण समेत गरेको थियो ।

गत बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु बहादुर दहालले हेटौंडा–६ मा रहेको धरान चतरा राजमार्ग अन्तर्गत जिरो किलोमिटर चौघडा चोकबाट दिप प्रज्वलन र ब्यानर समुद्घाटन गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । अभियानमा सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौलागाईं, सल्लाहकार शिव खनाल र बलभद्र खतिवडाको टोली रहनुभएको थियो ।

सहयोगी मन नेपालले विगत लामो समयदेखी समुदायको हरेक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ।