मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ स्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग आजबाट सर्वसाधरणले अवलोकन गर्न पाउने गरी खुला भएको छ ।

आज दिउँसो हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएपछि सुरुङ मार्ग सर्वसाधारणका लागि खुला भएको हो । सुरुङमार्ग अवलोकनको लागि सर्वसाधारणले ५० रुपैयाँ शुल्क तिर्नुपर्ने बताइएको छ । सुरुङमार्ग अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, विद्यार्थीलाई २० रुपैयाँ र ५ वर्षमुनिका बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

१०६ वर्ष लामो इतिहास बोकेको सुरुङमार्गलाई मकवानपुरको पर्यटकीय गन्तव्य बनाउने हिसाबले प्रदेश सरकारले पुननिर्माणको काम गरेको हो । दक्षिण यसियाकै पहिलो सुरुङमार्गको रुपमा उल्लेख गरिएको सुरुङमार्ग ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा पुर्ननिर्माण गरिएको हो ।