मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का प्रकाश स्याङ्तानले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयलाई न्यानो कपडा सहयोग गरेका छन् ।
सोमबार मनहरी–२, भुन्द्रुङ्गटाँडीमा अवस्थित श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत् कक्षा १ देखि ५ सम्मका करिब ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
स्याङ्तान हाल दक्षिण कोरियामा छन् । पढ्नकै लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि करिब ३ घण्टा हिँडेर आउनुपर्ने विद्यार्थीलाई लक्षित गरि साथी सन्देश थिङमार्फत् विद्यालयलाई आफुले स्विटर सहयोग गरेको बताए ।
जन्मदिनमा केक काटेर वा अन्य खर्च गर्नुभन्दा साना भाइबहिनीहरुलाई मदत गर्ने लक्ष्य बोकेर आफुले सक्दो सहयोग गरेको उनको भनाई छ ।सानो छँदा विद्यालयमा पढ्न आफुले गर्नुपरेको संघर्ष र अन्य साथीहरुको पनि बाध्यता र संघर्ष देखेका उनले विद्यार्थीहरुलाई थोरै भएपनि सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।
सानो छँदा विद्यालयमा पढ्न आफुले गर्नुपरेको संघर्ष र अन्य साथीहरुको पनि बाध्यता र संघर्ष देखेका उनले विद्यार्थीहरुलाई थोरै भएपनि सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।
सो क्रममा बोल्दै उक्त विद्यालयका अध्यक्ष राजकुमार थिङले जन्मदिनमा सामाजिक कार्यमा जोड दिने स्याङ्तानबाट अहिलेका युवाहरूले पाठ सिक्न सक्ने बताए । साथै उनले स्याङ्तानलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै खाले सहयोगको अपेक्षा राखेको बताए । विद्यालयका प्रधानाध्यापक दुधलाल घलानको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुर तथा फोनिज मकवानपुरका उपाध्यक्ष सन्देश थिङ, हेटौँडा सन्देश डटकमका कार्यकारी सम्पादक सोमलाल घलान (भुवन), मेरो पत्र डटकमका प्रधान सम्पादक विशाल राज राईसहित विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेका थिए ।












