
हेटौंडा । शिक्षकहरूको आन्दोलन चर्किरहेका बेला नेपाली कांग्रेस बागमती प्रदेशले सरकारलाई उनीहरूको जायज माग शीघ्र सम्बोधन गर्न आग्रह गरेको छ।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा, विद्यालय शिक्षक तथा कर्मचारीका उचित मागहरू समाधान गर्न ढिलाइ गर्नु नहुने उल्लेख गरिएको छ। उनले गुणस्तरीय विद्यालय शिक्षाको प्रवन्ध मिलाउन सक्ने ऐन तुरुन्त जारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
हाल नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा अनिश्चितकालीन आन्दोलन गरिरहेको छ। यही सन्दर्भमा कांग्रेस बागमती प्रदेशले विज्ञप्ति जारी गर्दै शिक्षक महासंघका मागहरू र सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्नुपर्ने बताएको हो।
विज्ञप्तिमा, शिक्षा क्षेत्रसँग सम्बन्धित उठाइएका विषयहरूलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने स्पष्ट सन्देश दिइएको छ।