
हेटौंडा । आदिवासी जनजाति समुदायका युवाहरुलाई लोक सेवा क्षेत्रमा सहभागी गराउन उद्देश्यले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा मंगलबार हेटौंडामा लोक सेवा तयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ रहेका थिए भने लोक सेवा तयारीमा मार्गदर्शन दिन उपसचिव कुमार घिसिङले प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए। उनले लोक सेवा आयोगतर्फ कसरी तयारी गर्ने, योजना कसरी बनाउने, र प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सहभागीहरूलाई जानकारी गराए।
अभिमुखिकरण कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघ मकवानपुरका सचिव भूपेन्द्र राना मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष नवराज वाईबा, नेपाल तामाङ घेदुङ हेटौंडा उपमहानगरका सचिव सुवास घिसिङ लगायत विभिन्न समुदायगत संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमले आदिवासी जनजातिका युवामा लोक सेवा क्षेत्रमा जागरुकता बढाउने र उनीहरूलाई सहभागी हुन प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।