महोत्तरी, २९ कात्तिक । महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् । दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको हो । अनुसार सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा महोत्तरी प्रहरीको गाडी बिग्रिएको थियो । त्यसपछि सर्लाही प्रहरीको गाडी मगाइयो । महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा पुनः महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले बताएको छ ।












