मकवानपुर, ३० कात्तिक । भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाईनलमा प्रवेश गरेको हो । भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८ ओभर ५ बलमा ३ सय २७ रनमा अलआउट भयो । न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए । उनी १ सय १९ बलमा १ सय ३४ रन बनाएर आउट भए । यस्तै कप्तान केन विलियमसनले ६९ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ७ विकेट लिए ।

यसअघि मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायाे । भारतका विराट काेहली र श्रेयस अय्यरले शतक बनाए । काेहली १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएर आउट भए । यस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान राेहित शर्माले २९ बलमा ४७ र केएल राहुलले २० बलमा ३९ रन जाेडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।

सन् २०१९ को एकदिवसीय विश्वकपमा म्यानचेस्टरमा भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो । भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुगेको हो । भारतले फाइनलमा बिहीवार कोलकाताको इडेन गार्डेनमा हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । बिहीवार अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।