मकवानपुर, ३० कात्तिक । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे नाममा रहेकाे सर्वाधिक शतककाे रेकर्ड भारतीय क्रिकेटर विराट काेहलीले ताेडेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा शतक बनाउँदै काेहलीले सचिनकाे सर्वाधिक ४९ शतककाे रेकर्ड ताेडेका हुन् । याेसँगै काेहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलाे खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । काेहलीलै मात्र २ सय ७९ इनिङ्समा ५० औँ शतक बनाए ।

क्रिकेटकाे ३ वटै फर्म्याट (टेस्ट, एकदिवसीय र टी–२०) मा गरेर सय शतक बनाउने रेकर्ड भने सचिनकाे नाममा छ । उनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतकसहित याे उपलब्धि हासिल गरेका हुन् । सर्वाधिक शतककाे दाेस्राे नम्बरमा रहेका काेहलीले टेस्टमा २९, एकदिवसीयमा ५० र टी–२० मा १ गरेर शतक सङ्ख्या ८० पुर्‍याएका छन् ।