मकवानपुर, १ मंसिर । हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरीले जफत गरेको मिठाई तथा तरकारी नष्ट गरेको छ । फुटपाथमा बिक्रीका लागि राखेको सामग्री नगर प्रहरीले जफत गरी नष्ट गरेको हो ।
चाडवाडको सयम छोपेर फुटपाथमा बिक्रीका लागि राखेको मिठाई, फलफुल र तरकारी सहितका सामग्री जफत गर्दै प्रहरीले शुक्रबार हेटौंडा १० राप्ति खोला नजिकै खाडल खनेर नष्ट गरेको हो । नगर प्रहरीले असोर र कार्तिक महिनामा फुटपाथबाट पिठोबाट बनेको खुल्ला मिठाई ८५ किलोग्राम र तरकारीहरु २२ किलो ५ सय ग्राम जफत सामग्री नष्ट गरेको बताइएको छ ।
मुख्यगरी हेटौंडा बजार क्षेत्रको बुद्धचौक, खोपेगल्ली, राप्तीरोड र तिहार बजारका लागि दिईएको हेटौंडा अस्पताल अगाडि अव्यवस्थित ढंगबाट बिक्रीका लागि राखिएका सामग्री जफत गरीएको नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालले बताए । उपमहानगरले पटक-पटक सार्वजनिक सुचना गर्दै फुटपाथमा सामग्रीहरु राखेर बिक्री नगर्न व्यवसायीहरुलाई जानकारी गराए पनि कार्यान्वयन नभएपछि सामग्री जफत गर्न थालेको बताइएको छ ।












