मकवानपुर, १ मंसिर । जाडो बढेतापनि मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको त्रास बढिरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा मात्रै हेटौँडाका थप १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ गतेदेखि हालसम्म जिल्लामा डेंगु संक्रमितको कुल संख्या ७६० पुगेको छ । जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । हेटौंडा उपमहानगरपालिमा ५२६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २० जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६८ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३७ जना, बकैया गाउँपालिकाका २५ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु संक्रमितको बिरामी फेला नपरेको कार्यालय जनाएको छ । सो अवधिमा जिल्लामा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।












