मकवानपुर, २ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ मा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यू भएको छ । मदन भण्डारी राजमार्गको हेटौँडा–सिन्धुली खण्डअन्तर्गत हेटौँडा–१७, बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी बिकको मृत्यु भएको हो ।

शुक्रबार साँझ साढे ६ बजेको समयमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले बाटो काट्दै गरेकी पैदलयात्री गोपिनी बिकलाई ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट गम्भीर घाईते भएकी गोपिनीको हेटौँडा अस्पतालमा उपचारको क्रममा ६ बजेर ४६ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले स्कुटर चालक हेटौँडा–१, पिपलबोट बस्ने ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।