मकवानपुर, ३ मंसिर । मकवानपुरको बकैया गाउँपालिकामा संचालित ‘बकैया स्तरीय भलिबल प्रतियोगिता’ मा आईतबार फाईनल खेल हुनेभएको छ । फाईनल खेलमा वडा नम्बर ४ र वडा नम्बर ८ का बिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ ले ३ नम्बर वडालाई ३–० को सोझो सेटले हराउँदै फाइनल प्रवेश गरेको छ । वडा ४ ले ३ लाई २५–१९, २५–१७ र २५–१५ ले हराएको हो । खेलको म्यान अफ द म्याच वडा नम्बर ४ का राजकुमार राई घोषित भए ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ८ ले ७ लाई ३–१ को सेटले हराउँदै फाइनल प्रवेश गरेको छ । पहिलो सेट १५–२५ ले गुमाएको वडा नम्बर ८ ले क्रमशः २५–१२ र २५–१६ र २५–१५ सेट नतिजा आफ्नो पक्षमा पार्यो ।
खेलको म्यान अफ द म्याच वडा नम्बर ८ का छिरिङ लोप्चन घोषित भए । दुई टोलीले भोलि आइतबार दिउँसो २ बजे उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैया र उपविजेता टिमले २० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्ट खेलाडीहरुले १–१ हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।












