
मकवानपुर, ५ मंसिर । हेटौँडाबाट काठमाडौँ जाँदै गरेको सुमोमा सवार २ युवकहरु नक्कली नोटसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई नक्कली रुपैयाँसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
काठमाडौंबाट पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने ६८ वर्षीय गोकर्ण बहादुर थापा रहेका छन् । उनीहरूको साथबाट ३ लाख ४९ हजार नक्कली रूपैयाँ बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।