
मकवानपुर । दिवंगत पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाको संयोजनमा आज साँझ दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम हेटौंडाको बुद्धचोकमा साँझ ६ बजे आयोजना गरिएको हो।
स्व. रजकको योगदानलाई सम्झिँदै पत्रकार, सामाजिक अभियन्ता, नागरिक समाजका प्रतिनिधि तथा स्थानियवासीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको थियो।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी सहितका पदाधिकारीहरूले पत्रकार रजकले पत्रकारितामार्फत समाजमा पुर्याएको योगदान अमूल्य रहेको उल्लेख गर्दै उनीप्रति श्रद्धा प्रकट गरे। साथै, कार्यक्रममा सहभागीहरूले रजकको निधनले पत्रकारिता क्षेत्रले एक जुझारु र निष्पक्ष आवाज गुमाएको भन्दै दुख व्यक्त गरेका थिए।