मकवानपुर, ८ मंसिर । हेटौंडा फुटबल एकेडेमी मकवानपुरको हेटौँडामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा नील गगन युवा क्लबलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै एकेडेमी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित खेल समय १–१ गोलको बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । नील गंगनका अनिल घलानले खेलको ८ औँ मिनेट तथा हेटौँडा फुटबल एकेडेमीका रवि थिङले खेलको २० औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच हेटौँडा फुटबल एकेडेमीका गोलरक्षक अस्मिर गोङ्बा घोषित भए ।

प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५५ हजर रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गने छन् ।