मकवानपुर, १० मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ का भक्तबहादुर भोम्जनसहित मिटरव्याज पीडितहरुले पत्रकार सम्मलेन गर्दै आफूहरुलाई न्याय दिलाउन पहल गर्न आग्रह गरेका छन् । भोम्जनले आफूहरु घर र जग्गाबिहीन भएको भन्दै न्याय दिलाउनका लागि पहल गर्न आग्रह गरेका हुन् ।
भोम्जनले १२ धुर जग्गामा बनेकोे ३ तीन कोठे घरलाई सोही ठाउँकी चमेलीमाया मोक्तान र हेटौडा–८ का गंगाराज प्रधानले आफूहरुलाई थाहै नदिई पास गराएर लिएको आरोप लगाए । आफू घरमा नभएको बेला आफ्नो श्रीमतीलाई मालपोत कार्यालयसम्म जाउँ भनी ललाईफकाई गरेर उक्त जग्गा पास गरी नचिनेका हेटौंडा—४ का ढुण्डीराज अधिकारीलाई ५ लाख ६० हजार रुपैयाँमा २०७८ असार २९ गते पास गराएको पाइएको र त्यो कुरा श्रीमतीलाई पनि थाहा नभएको उनको भनाइ छ ।
प्रधान र चमेलीले जग्गाको पैसा पनि नदिएको र सबै कुरा आफूलाई पछि थाहा भएको उनले बताए । जग्गा कब्जा गर्ने उद्देश्यले आफ्नो छोरी निर्मलामाया भोम्जनलाई समेत फकाईफुलाई गरेर चेक अनादरको मुद्दामा दुःख दिने काम गरेको उनले बताए । पैसा नभएको खाताको ८ लाख रुपैयाँको चेक काट्न लगाएर पछि पैसा नदिएको भनी त्यहि खाली चेकको आधारमा गंगाराजले जिल्ला अदालत मकवानपुरमा मुद्दा हालेको उनले बताए ।
वडामा उजुरी गर्दा पनि सुनुवाइ नभएको भन्दै भोम्जनले प्रहरीमा उजुरी गर्नलाई आफ्नो तर्फबाट बोल्ने कोही नभएको जिकिर गरे । छोरा वीरबहादुर भोम्जनले राजीनामाको लिखित बदरको लागि अदालतमा फिरादपत्र दायर गरिराखेको उनले बताए । सानै उमेरमा विधुवा भएकी एकल महिलालाई सहयोग गर्नुपर्नेमा उल्टै मुद्दा हाल्ने गंगाराज प्रधान र चमेली मुक्तानलाई सजाय दिलाउन उनले आग्रह गरे ।












