मकवानपुर, १४ मंसिर । मकवानपुरको हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रगशालामा एफसी मुण्डियाल क्लबको आयोजनामा भएको स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुरले जितेको छ । बुधबार भएको फाइनल खेलमा एन्फा मकवानपुरले रियल स्टार क्लबलाई ४–० गोलअन्तरले हराउँदै उपाधि जितेको हो । उपाधीसँगै एन्फा मकवानपुरले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता रियल स्टारले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।

एन्फा मकवानपुरबाट पहिलो हाफको १८ औं मिनेटमा मोहित गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १५औं मिनेटमा एन्फा मकवानपुरका लागि सुजल श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाए । कमजोर देखिएको रियल स्टार विरुद्ध एन्फा मकवानपुरले दोस्रो हाफको १५ औं मिनेट र ३० औं मिनेटमा अनिष महर्जनले थप २ गोल गर्दै अन्तर फराकिलो पारे । म्यान अफ द म्याच अनिष महर्जन घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै एन्फा मकवानपुरका मोहित गुरुङले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एन्फा मकवानपुरका क्रिशल मोक्तान घोषित भए । उत्कृष्ट रक्षक रियल स्टारका उर्गेन रुम्बा, उत्कृष्ट मिडफिल्डर एन्फा मकवानपुरका रितिक श्रेष्ठ, उत्कृष्ट फरवार्ड एन्फा मकवानपुरका कप्तान प्रितम स्याङ्बो, उत्कृष्ट प्रशिक्षक एन्फा मकवानपुरका विजयलाल श्रेष्ठ घोषित भए । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो ।

एफसी मुण्डियाल क्लबका अध्यक्ष सुविन घिमिरे अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको थियो । विजेतालाई नगरउपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष वेश खड्की, एन्फा केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाको आतिथ्य रहेको थियो ।