मकवानपुर, १४ मंसिर । मकवानपुरको हेटौँडामा हिजो बुधबारदेखि ‘हेटौडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ सुरु भएको छ । यही मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघले आयोजना गरेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिता उद्घाटन गरे ।

प्रतियोगितामा एक सय जना खेलाडी सहभागी छन् । प्रतियोगिता सुभारम्भमा संघका केन्द्रीय महासचिव धरम लामा, उपमहासचिव भोनालिसा खम्बु, प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की उपस्थिती थियो । मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा सुभारम्भ भएको प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित होटल सामनामा भएको हो ।

प्रतियोगितामा स्विस लिग प्रणाली अन्तर्गत ९ खेल खेलिने छ । जसमा १ घण्टा ३० मिनेट र ३० सेकेन्ड थप पहिलो चालबाटै हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख २५ हजार, दोस्रो हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ४० हजार, चौथो हुनेलाई २५ हजार, पाँचौं हुनेलाई २० हजार, छैठौं देखि दशौंसम्मलाई १५ हजार, एघारौं देखि पन्ध्रौंसम्मलाई ११ हजार नगद पुरस्कार दिइने संघले जनाएको छ ।

प्रतियोगितामा सबै गरी कुल नगद पाँच लाख ८७ हजार पाँच सय रुपैंया पुरस्कार राशी लाग्ने आयोजकले जनाएको छ भने कार्यक्रमका लागि रु.६१ लाख १२ हजार लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती प्रदेश युवा परिषदबाट आर्थिक सहयोग प्राप्त हुने जनाइएको छ ।