मकवानपुर, १४ मंसिर । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय गठन भएको सय दिन पूरा भएको छ । एक सय दिनमा मन्त्रालयको उपलब्धिका विषयमा बुधबार एक कार्यक्रम आयोजना गरी बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय मन्त्री रामकृष्ण चित्रकारले उपलब्धी र समस्याका विषयमा संचारकर्मी र सरोकारवालाहरुलाई जानकारी दिएका छन् ।
गठबन्धन सरकारमा नेपाली काङ्ग्रेसबाट मन्त्री बनेका चित्रकार लामो समय विना विभागीय रहे । उनै चित्रकारले प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हाँकेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि हालसम्म काम गर्ने सवालमा कानूनी तथा व्यवहारिक समस्याहरु आइपरेको अनुभव बुधबार हेटौंडामा पत्रकारहरुलाई सुनाए । तर पनि अब आफूहरु औद्योगिक नीति, वाणिज्य नीति, खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी नीति तर्जुमा गर्ने तयारीमा लागेको बताए ।
प्रशासनसम्बन्धी अधिकार मन्त्रालयको भएको र प्रदेश निजमातीसम्बन्धी नियमावली बनेपछि मन्त्रालयको प्रशासनसम्बन्धी अधिकार क्षेत्रको बारेमा थप स्पष्ट उनको भनाई छ । मन्त्री चित्रकारले प्रदेश लगानी बोर्ड स्थापना, भूमि बैङ्क स्थापनालगायतका काम अघि बढाउन कानुन निर्माण गरिने जानकारी दिए । मन्त्रालयले गर्नुपर्ने सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतका सङ्गठनको सङ्ठनात्मकम स्वरुप र दरबन्दी तेरिज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पेस गरिएको उनको भनाई छ ।
आफ्नो मन्त्रालयले यस अवधिमा उपभोक्ताको हकहित र अधिकार संरक्षणका लागि स्वच्छ प्रतिस्पर्धा कायम गर्दै उपभोग्य वस्तुको आधारभूत गुणस्तर कायम गर्न बजार अनुगमनको कार्यलाई नियमित तथा प्रभावकारी बनाइएको बताए ।












