मकवानपुर, ३० मंसिर । हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकको वार्षिकोत्सवको अवसरमा हेटौँडा अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको छ । चौधौं वार्षिकोत्सवको अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गरेर समृद्ध समाज राष्ट्रिय दैनिकले २५ हजार रुपैयाँ बराबरको करिब एक सय वटा पुस्तक सहयोग गरेको हो । अस्पतालमा उपचाररत विरामी र कुरुवालाई अध्ययनको अवसर हुनुका साथै पठन संस्कृतिको समेत विकास हुने अपेक्षासहित अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले बताएका छन् ।

सम्पादक श्रेष्ठले हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई पुस्तक हस्तान्तरण गरेका हुन् । सम्पादक श्रेष्ठले पठन संस्कृतिको विकास गर्न जरुरी रहेको उल्लेख गर्दै पत्रिकाप्रति पाठकलाई आकर्षित गर्न पनि पठन संस्कृतिको आवश्यकता रहेको बताए । पठन संस्कृतिको विकासकै लागि विद्यालय तहका विद्यार्थीलाई नियमित समृद्ध समाज दैनिक पढाउने प्रयास गरिएको र विद्यालयहरुबाट पनि सहयोग प्राप्त भइरहेको सम्पादक श्रेष्ठले बताए ।

एभोकाडो एण्ड अर्किड रिसोर्टमा शुक्रबार सम्पन्न कार्यक्रममा आमन्त्रितले पनि अस्पतालका लागि पुस्तक हस्तान्तरण गरेका छन् । चियापन कार्यक्रममा सहभागी हुन आमन्त्रित अतिथिले पनि अस्पतालमा पुस्तक हस्तान्तरण कार्यक्रमप्रति समर्थन जनाउँदै एक सय थान पुस्तक हस्तान्तरण गरेका छन् ।

हेटौँडाबाट प्रकाशन हुने समृद्ध समाज दैनिक प्रेस काउन्सिल नेपालको वितरण संपरीक्षणमा क वर्गको पत्रिका हो । यसअघिका २ वर्ष समृद्ध समाज राष्ट्रिय दैनिकको वार्षिकोत्सवको अवसरमा आमन्त्रित सबैलाई पुस्तक वितरण गर्ने गरिएको थियो ।