मकवानपुर, १ पुस । मकवानपुरको हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको मकवानपुर जिल्ला लिग क्वालिफाई फुटबल प्रतियोगिता २०८० को उपाधि बकैया युथ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा पञ्चशील युवा क्लबलाई ४–० गोलअन्तरले हराउँदै बकैयाले उपाधि हात पारेको हो । छनोट प्रतियोगिताको उपाधि विजेता र उपविजेता दुबै टिमले आगामी जिल्ला लिग फुटबल प्रतियोगिता खेल्नेछ ।

खेलमा बकैयाको तर्फबाट पहिलो हाफमा अभिषेक भोलनले टिमलाई आग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफमा भोलनले नै थप एक गोल गर्दै अग्रतालाई कायम राखेका थिए । दोस्रो हाफमै सुजन गुरुङ र छेवाङ लामाले समान १–१ गोल गर्दै टिमलाई सहज जित दिलाएका छन् । म्यान अफ द म्याच बकैयाबाट सुजन गुरुङ घोषित भए ।

यसअघि बुधबार भएको सेमिफाइनल खेलमा पञ्चशील युवा क्लबले जनहित युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने बिहीबार भएको सेमिफाइनल खेलमा बकैयाले जनप्रवाह युवा क्लबलाई १०–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।