मकवानपुर, १ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीमा अवस्थित सनराईज बोर्डिङ स्कूलको प्राङ्गणमा शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । स्वास्थ्य शिविरमा ६ सय २१ जनाले स्वास्थ्य जाँच गराएका छन् ।
लायन्स क्लब अफ काठमाडौं, तारकेश्वरको आयोजनामा भएको स्वास्थ्य शिविरमा हेटौंडा–१२, १३ र १४ का बासिन्दाहरुले जाँच गराएका थिए । शिविरमा उच्च रक्तचाप, मधुमेह परीक्षणका साथै महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी परीक्षण भएको थियो ।

भक्तपुर क्यान्सर अस्पतालका डाक्टर अञ्जु श्रेष्ठ र सशांक शर्मासहितको टोलीले शिविरमा सेवाग्राहीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा लायन्स क्लब अफ काठमाडौं, तारकेश्वरकी अध्यक्ष पार्वती खरेल पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो ।










