मकवानपुर, २ पुस । मकवानपुरको हेटौँडामा ख्रीष्टमसको शुभकामना आदानप्रदान कार्यक्रम २०८० सम्पन्न भएको छ । हेटौँडा नगर पाष्टर एशोसिएसनको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।
नगर पाष्टर एशोसिएसनका अध्यक्ष पाष्टर अशोक अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख लामाले हेटौँडा उपमहानगरपालिकाले सबै धर्मावलम्बीहरुलाई यथासक्य सहयोग गर्ने बताउनुभयो । ख्रीष्टमसको शुभकामना दिँदै कसैलाई पनि पक्षपात नगरिकन समान रुपले उपमहानगरपालिकाले व्यवहार गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, पाष्टर सूर्यप्रकाश राई, पाष्टर रामचन्द्र प्याकुरेल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, ५ नम्बर वडा अध्यक्ष शुशिल घिमिरे, ८ नम्बर वडाअध्यक्ष रामकृष्ण थापा, १४ नम्बर वडाअध्यक्ष दिपक खड्का, तत्कालिन नारायणी अञ्चलका पहिलो पाष्टर फुरबहादुर लामा, हेटौँडा नगरका संस्थापक पाष्टर रेभरेन्ड पाष्टर रामकृष्ण पन्त लगायतकाको आतिथ्यता रहेको थियो ।










