मकवानपुर, २ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ नकौलीमा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सोमबार स्वास्थ्य चौकीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

स्वास्थ्य चौकीको उद्घाटन भएसँगै नकौलीका बासिन्दाहरुले सामान्य बिरामी हुँदा पनि हेटौँडा बजारसम्म आईपुग्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य चौकीबाट १ नम्बर वडाको घ्याङ्सिङटार, बाँझोडाँडा (जेसिज गाउँ), घट्टेडाँडा, नेकपानी सहित हेटौंडा १९ को डुमाले, कुवापानी क्षेत्रमा बासोवास गर्ने नगरवासीले सुबिधा पाउने बताइएको छ ।

स्वास्थ्य चौकीको उद्घाटनसँगै पाठेघर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क जाँच तथा परिक्षण शिविर समेत संचालन भएको थियो ।

स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा हेटौँडा १ का वडाअध्यक्ष सविन न्यौपाने, हेटौँडा ८ का वडाअध्यक्ष रामकृष्ण थापा र हेटौँडा ९ का वडा अध्यक्ष सुकराम केसी सहित कार्यपालिका सदस्य र वडा सदस्यहरुको सहभागिता रहेको थियो ।