काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले मन्त्रालयका उपलब्धि सार्वजनिक गरेका छन् ।
भुसालले मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्रालय सम्हालेको पाँच महिना पुगेको अवसरमा मन्त्रालयका उपलब्धि सार्वजनिक गरेका हुन् ।

उनका अनुसार मन्त्रालयको पहिलो प्राथमिकतामा रासायनिक मलको आयात रहेको छ । पहिलो प्राथमिकता मल आयात नै रहेको उनको भनाई छ । उनले भने,‘ “मन्त्रालय सम्हालेपछि कृषिका लागि मुख्य समस्या रासायनिक मल नै हुने गरेकाले मेरो पहिलो प्राथमिकता नै मल आयात भएको हो । अहिले मल पर्याप्त मात्रामा आएको छ । ’

मन्त्रालयसँग अहिले ५० देखि ६० हजार टन रासायनिक मल मौज्दात रहेकाले यस वर्ष रासायनिक मलको अभाव नहुने उनको भनाइ छ । केही स्थानीय तहमा मल वितरण प्रणालीमा कमजोरी भएकाले यसलाई सुधार्दै अगाडि बढ्ने उनले बताए । यस्तै, पुराना कार्यक्रमका साथै नयाँ कार्यक्रमलाई पनि अगाडि बढाएको उनको भनाइ छ । इलाम, सुनसरी, रौतहट सर्लाही, काभ्रे, नुवाकोट, तनहुँ, पर्वत, अर्घाखाँची, कपिलवस्तु, दैलेख, कालिकोट, कैलाली र बैतडी जिल्लाका १६१ पालिकामा पशु स्वास्थ्य आधारभूत प्रयोगशाला स्थापना कार्यक्रम यस वर्ष नयाँ कार्यक्रम रहेको उनले बताए ।
हरित विद्यालय र पोषण शिक्षा कार्यक्रम र बाँझो जमिन उपभोग कार्यक्रम पनि नयाँ कार्यक्रम रहेको उनले बताए । मन्त्रालय सम्हालेपछि नयाँ ऐन, नियम निर्देशिका र मापदण्ड पनि निर्माण गरेको मन्त्री भुसालले बताए । खाद्य पदार्थमा विषादीको अधिकतम अवशेष सम्बन्धी मापदण्ड पारित गरिएको छ । कुखुराको दानाको गुणस्तर तथा मात्रा तोकिएको आदेश २०८० पारित गरिएको उनको भनाइ छ ।

यस्तै, खाद्य सम्प्रभुता नियमावली, २०८० तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । कृषि क्षेत्र समन्वय निर्देशिका, २०८० निर्माण गरिएको छ । नेपालमा उत्पादन तथा उपभोग गरिने फलफूल तरकारीमा विषादीको अधिकतम मात्रा समेट्ने गरी तरकारी छ समूहका १५ उपसमूह, फलफूल चार समूहका १० उपसमूह र चियामा अधिकतम मात्रा कार्यान्वयनमा आएको छ ।

उनले पशुमा लाग्ने लम्पी स्किन रोगको उपचार तथा नियन्त्रणका लागि १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको बताए । यस रोगको रोकथामका लागि सम्पूर्ण प्रयासहरू गरिएको उनको भनाइ छ । यस्तै, आफ्नो पाँच महिने कार्यकालमा कृषि र सिँचाइ मन्त्रालय मिलेर सिँचाइको समस्या समाधान गर्ने निर्णय भएको उनले बताए । यस्तै चीन, भारत, अमेरिका, जापान, दक्षिण कोरिया र इजरायल लगायतका राजदूतहरूसँग भेटघाट गरी सहयोगको सम्भावनाबारे छलफल भएको भुसालको भनाइ छ ।

नेपालमा खपत हुने चामलको १२ लाख ८० हजार टन चामल बाहिरबाट आयात गर्नुपर्ने आँकडा रहेकाले यसको पूर्तिका लागि चैते धान उत्पादित वृद्धि अभियान थालिएको कृषिमन्त्री भुसालले जानकारी दिए ।