फाईल तस्बिर

मकवानपुर, ५ पुस । इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरुको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका ४ जना फरार नेपालीहरुलाई नेपालमा फिर्ता ल्याइएको छ । नेपाल ल्याइएका मध्ये यूएईको दुबईबाट ३ जना र कुवेतबाट १ जना रहेका छन् ।

विद्युतीय कारोबारको कसूरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठान सरूमारानी गाउँपालिका-१ का ३३ वर्षीया सगीर अहमदलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ । अनुसन्धानको क्रममा यूएईमा रहेको खुल्न आएका अहमद विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत भदौ २० गते रेड कर्नर नोटिस जारी भएको थियो । उक्त शाखाबाट खटिएको प्रहरीले उनलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको हो । उनलाई सम्बन्धीत कसूरमा आवश्यक कारवाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको छ ।

यसैगरी जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका स्याङजा वालिङ नगरपालिका-११ भोर्लेका ३५ वर्षीय गोपाल बुढाथोकी भन्ने याम बहादुर बुढाथोकीलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ । अनुसन्धानको क्रममा यूएईमा रहेको खुल्न आएका बुढाथोकी विरुद्ध गत भदौ २०७९ जेठ १८ गते रेड कर्नर नोटिस जारी थियो । उनलाई उक्त शाखाबाट खटिएको प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको हो । उनलाई सम्बन्धीत कसूरमा आवश्यक कारवाही गराउने कार्य प्रकृयामा रहेको छ ।

यसअघि जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामालाई कुवेतबाट मंगलबार र ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका सर्लाही साबिक जानकीनगर गाविस-७ का कोमल राज उपाध्यायलाई यूएईको दुबईबाट पक्राउ गरी मंसिर २९ गते नेपाल फिर्ता ल्याइएको थियो ।