मकवानपुर, ५ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित टिसिएन चौरमा आजदेखि खेलकुद तथा व्यापार महोत्सव सुरु हुँदैछ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा पुस ५ गतेदेखि १७ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको आयोजक खेलकुद विकास समितिले हिजो पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

समितिका अध्यक्ष वेष खड्कीका अनुसार महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नेछन् । मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना गर्ने बताउदै खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए । उनका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछ।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उधान समेत राखिने छ । मेलामा करिब २ सय ६० वटा स्टल रहने जनाइएकाे छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ।