मकवानपुर, ५ पुस । मकवानपुर जिल्लाको हाँडीखोला निवासी एक महिलाको हत्या गरेर फरार रहेका युवक ७ वर्षपछि पक्राउ परेका छन् । वि.सं. २०७४ पुस ३० गते दिउँसो मकवानपुर हाँडिखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरी फरार रहेका अर्घाखाँचीको साबिक सिमलपानी गाविस-५ घर भएका ३७ वर्षीय अंकित भन्ने जगत बिकलाई घटनाको ७ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो ।
बिक र अर्का एक युवकले काठमाडौं महानगरपालिका-१४ भुवनेश्वरी मन्दिर परिसरभित्र अप्सराको हत्या गरी फरार भएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
सोही घटनामा संलग्न रहेका धादिङ साविक मुलपानी गाविस-७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी नकबजनी चोरी मुद्धामा नाम परिबर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगी रहेको खुल्न आएको छ । जगतलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।










