धनुषा, ६ पुस । धनुषाको हंसपुर नगरपालिका–५ मा प्रहरीले हवाई फायर गरेको छ ‌। प्रहरीको गोली लागेर शिवशङ्कर मण्डलसहित दुई जना घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदैछ । हंसपुरमा दुई समूहको विवादमा एक जना वृद्धको ज्यान गएपछि अवस्था तनावपूर्ण बनेको थियो जसलाई साम्य पार्न प्रहरीले हवाईफायर गरेको हो ।

हिजो बेलुका दुई समूहको विवाद हुँदा मिलाउन पुगेका ६५ वर्षीय दीपनारायण मण्डल (दीपा) माथि नै कुटपिट भएको र उहाँको उपचारका क्रममा ज्यान गएको थियो । यो घटनालाई लिएर स्थानीय बासिन्दाले विरोध गरेका छन् । स्थानीयबासिन्दाले इलाका प्रहरी कार्यालय सुगानीमा घेराउ गरी ढुङ्गामुढा समेत गरेका छन् । स्थानीयबासिन्दाले प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै दुई वटा मोटरसाइकल पनि जलाएका छन् ।