मकवानपुर, ८ पुस । मकवानपुरको मनहरीमा केही सातादेखि जंगली हात्तीले लगातार आतंक मच्चाएको छ । मनहरी गाउँपालिकाका स्थानीयहरुले नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको हात्तीको कारण दिनरात सास्ती झेल्नुपरेको हो ।
गएको दुई सातादेखि लगातार हात्तीको आतंकले मनहरीका स्थानीयहरुलाई सुरुमा अन्नबाली र घरगोठ जोगाउन मुस्किल थियो । अहिले हात्तीले मान्छेलाई आक्रमण गर्न थालेपछि ज्यान जोगाउन मुस्किल परेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयको घरगोठ र अन्नपातमा क्षति गर्दै रजाई गरेको हात्तीले मान्छेलाई आक्रमण गरी घाइते बनाएपछि ज्यान जोगाउन मुस्किल परेको हो ।

शनिबार राती ११ बजेर ४५ मिनेटको समयमा मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५१ बर्षीया कान्छीमाया तामाङलाई हात्तीले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घर बाहिर निस्किएकी तामाङलाई अचानक जंगली हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट ढाडमा चोट लागेपछि उनी बेहोस भएकी थिइन् ।










