मकवानपुर, १४ पुस । ईपिएस परिक्षामार्फत कोरिया जाने सपना बोकेका २ युवाहरुको हिजो ज्यान गएको छ । हिजो ललितपुरको बालकुमारीमा भएको झडपका क्रममा २ युवाहरुको ज्यान गएको हो ।
ईपिएसको निर्णय विरुद्ध सडकमा उत्रिएका दैलेखका २३ वर्षीय सुजन रावत र २१ वर्षीय विरेन्द्र शाहको ज्यान गएको हो । ललितपुर प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले आक्रोशित भीडलाई नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेवार बल प्रयोग गर्दा जिल्ला अछाम, चौरपाटी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २१ को वीरेन्द्र शाहलाई गोली लागि घाइते भई औषधि उपचारको लागि पाटन अस्पताल लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको। सोही स्थानमा भाग दौडको क्रममा जिल्ला दैलेख, महावु गाउँपालिका वडा नं ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउत घाइते भई तत्काल उपचारको लागि इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको भनि चिकित्सकले मृत्यु घोषित गरेको।’
ईपीएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली परीक्षामा सहभागिताको विषयलाई लिएर २५०० देखि ३००० जना भेला जम्मा भई आन्दोलन गरेको प्रहरीको भनाइ छ ।










