मकवानपुर, १९ पुस । आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार केही दिनदेखि नै आकाशमा उल्का वर्षा भैरहेको छ, तर आज राति भने अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो ।
आज राति साढे ११ बजेदेखि भोलि बिहान घाम उदाउनु अघिसम्म नै उल्का वर्षा देख्न सकिने छ । नाङ्गो आँखाले नै उल्का वर्षाको अवलोकन गर्न सकिने छ । आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसलाई नै उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालीमा तारा खसेको पनि भन्ने गरिन्छ ।