
धनुषा, १२ कात्तिक । साथीहरुसँग लागुऔषध र मोबाईलका विषयमा विवाद हुँदा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने २४ वर्षी रुपेश महराको ज्यान गएको छ । गत बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा रुपेशको शव फेला परेको थियो । अनुसन्धानका क्रममा उनलाई साथीहरुले नै हत्या गरेको प्रहरीले दाबी गरेको छ ।
प्रहरीले रुपेशको हत्या अभियोगमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी र हरिचन मण्डललाई पक्राउ गरि सार्वजनिक गरेको छ । दुबैजनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु तीनै जनाले सँगै बसेर लागूऔषध सेवन गरेको र त्यसपछि मोबाइलको विषयमा भएको समान्य विवादको कारण बाँसको भाटा प्रहार गरि रुपेशको हत्या गरेको धनुषाका प्रहरीले दाबी गरेको छ । बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।