काठमाडौं ।  अछाम क्षेत्र नं.  १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले वर्षाका कारण सास्ती खेपिरहेका सुदूरपश्चिम वासीलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत रहेका सांसद कुँवरले वर्षाका कारण सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा जनधनको ठूलो क्षति भएको भन्दै तत्काल राहतको  पहल गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ  ।

उहाँले वर्षाका कारण भीमदत्त राजमार्गको भातकाडा देखि बुढीतोला सम्मको सडक ठाउँ ठाउँमा भत्किएर आवागमन अवरुद्ध भएर जनजीवन प्रभावित भएको समेत संसद्मा जानकारी गराउनु भयो  ।

सांसद कुँवरले आर्थिक वर्ष २०६६/ ६७ सालमा सुरु भएको उत्तरतर्फ ताक्लाकोटदेखि दक्षिण खक्रौला जोड्ने सडकका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणको कार्य सूचीमा समेट्न समेत माग गर्नुभएको छ  ।