मकवानपुर, २८ पुस । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित भुटनदेवी मन्दिर ब्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिद्वारा संचालित भुटनदेवी रात्रिकालिन पाहुना विश्रामघरको शनिबार उद्घाटन गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले विश्रामघरको उद्घाटन गर्नुभएको हो ।

भुटनदेवी मन्दिर ब्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिको २० औं साधारणसभा तथा अधिबेशनको अवसर पारेर प्रमुख अतिथि बानियाँले बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित २४ कोठे ६० जना बस्न मिल्ने रात्रिकालिन पाहुना विश्रामघरको उदघाटन गर्नुभएको हो ।

समितिको २० औं साधारणसभा तथा रात्रिकालिन पाहुना विश्रामघरको समुदघाटन गर्दै प्रमुख अतिथि बानियाँले भुटनदेवी मन्दिरको भौतिक पूर्वाधार निर्माण तथा पर्यटकीय प्रवर्द्धनका लागि पनि सहयोग गरेको बताउँदै आगामी दिनमा पनि प्रदेश सरकारबाट आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष राममान श्रेष्ठको सभाध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्वसमेत निर्वाचित गर्ने समितिका उपाध्यक्ष उत्तम शर्मा ढकालले जानकारी दिनुभयो ।