
मकवानपुर । बागमती प्रदेशसभा अन्तर्गत निर्माण भएका पाँचवटा विषयगत समितिको पहिलो बैठक सम्पन्न भएको छ । प्रदेशसभा सचिवालयमा भएको पाँचवटै बैठकमा प्रदेशसभाका सभामुख भुवन पाठक तथा उपसभामुख अप्सरा चापाँगाईले प्रदेशसभाको विषयगत समितिको विषयमा प्रदेशसभा सदस्यहरुसँग अन्तरक्रिया समेत गरेका छन् ।
मंगलबार बिहान प्रदेश मामिला समितिको बैठकबाट सुरु भएको विषयगत समितिको बैठक आज दिनभर पालैपालो गरि पााचवटै समितिको बैठकगरि सम्पन्न भएको हो । विषयगत समितिको सभापतिको टुंगो नलागिसकेको कारण बैठकको अध्यक्षता उक्त समितिको जेष्ठ सदस्यहरुले गरेका थिए । प्रदेश मामिला समितिको बैठकको अध्यक्षता २००७ सालमा जन्मेका प्रदेशसभा सदस्य शिवराज अधिकारीले गरेका थिए ।
आजै भएको सार्वजनिक लेखा समितिको बैठक जेष्ठ सदस्य ठाकुरप्रसाद ढकालको अध्यक्षतामा भएको थियो भने अर्थ तथा विकास समितिको बैठक जेष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षतामा भएको थियो । शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकलाई जेष्ठ सदस्य मिना पराजुली पोखरेलले गर्दा उद्योग पर्यटन तथा वातावरण समितिको बैठक जेष्ठ सदस्य याङ्किला शेर्पाले गरेकी थिइन् ।
बैठकमा बैठक सञ्चालक कार्यविधिको विषयमा सहमति जुटेको छ भने केहि समितिहरुले उपसमिति समेत निर्माण गरेका छन् । ‘मिनि पार्लामेन्ट’को रुपमा रहने गरेको विषयगत समितिहरु निर्माण भएपनि बैठक भने बसेकेो थिएन् । विषयगत समितिको सभापतिको विषयमा दलीय भागवण्डा नमिल्दा अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन् ।
पाँचवटा विषयगत समितिमा सत्तारुढ दलहरु कांग्रेस, माओवादी तथा समाजवादीकै भागवण्डा मिल्न सकेको छैन भने विपक्षी दलहरु एमाले, राप्रपा, नेमपिकाले पनि दाबी गरिरहेका छन् । सत्तारुढ दललाई समर्थन गरेको हाम्रो नेपाली पार्टीले पनि समितिको सभापतिमा दाबी गरिरहेको छ ।