मकवानपुर, १२ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी क्यान्सर पिडित धनकुमारी लोको उपचारका लागि बचाऊ अभियान संचालन गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौराकी लो अहिले भक्तपुर क्यान्सर हस्पिटलमा उपचाररत छिन् ।

लोको उपचारमा आर्थिक अभाव भएपछि न्यौपानेटार टोल विकास संस्था सुकौराले अभियान थालेको अभियान्ता राजकुमार स्याङ्तानले जानकारी दिनुभयो । टोल विकास संस्थाका अध्यक्ष जगतबहादुर योञ्जन, सचिव सूर्यबहादुर ब्लोनसँगै अन्य अभियान्ताहरुको रोहबरमा अहिले धमाधम सहयोग संकलन भइरहेको छ । सहयोग संकलनका लागि सुकौरास्थित नागरिक सचेत क्लब पनि सक्रियताका साथ लागिरहेको छ ।

अभियान्ता राजकुमार स्याङ्तानका अनुसार अहिले अभियानमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुका साथै वैदेशिक रोजगमारका सिलसिलामा विदेशमा बसिरहनुभएका नेपालीहरुबाट पनि सहयोग प्राप्त भएको छ ।