
जी. न्यौपाने, मकवानपुर, १६ माघ । रिपोर्टर्स क्लब नेपाल मकवानपुरको आयोजनामा सहिद दिवसको अवसर पारी २ पत्रकारलाई सम्मान गरिएको छ । आज हेटौँडामा भएको कार्यक्रममा सहिद वासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट मकवानपुरे अग्रज पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मानित गरिएको हो ।
रिपोर्टर्स क्लबका मकवानपुर जिल्ला अध्यक्ष बलराम पुडासैनीको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा पुरस्कार प्रदान तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले पत्रकारहरुको समस्या समाधानमा बागमती प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले कार्यनीति बनाएर ल्याएमा बागमती प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले बागमती प्रदेश सरकारले स्थानीय मिडियालाई बेवास्ता गर्दै विज्ञापन एजेन्सीमार्फत कमिसनमा सूचना बेचेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रदेश रजिष्ट्रार रेवती सापकोटाले सार्वजनिक खरिद ऐनमा २० लाखभन्दा माथिका योजनाहरुको सूचना प्रकाशित गर्दा राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्ने बाध्यात्मक नियम भएका कारण त्यसको संसोधन गर्नुपर्नेमा पत्रकारहरुले आवाज उठाउनुपर्नेमा जोड दिनुभएको थियो । सार्वजनिक खरिद ऐनको व्यवस्था स्पष्ट नभएसम्म स्थानीय संचारमाध्यमकले सूचना नपाउने सम्भावना उस्तै रहने भन्दै उनले पत्रकारहरलाई त्यसतर्फ आवाज उठाउन र बागमती प्रदेश सरकारलाई पनि साथ दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा रिपोर्टर्स क्लबका केन्द्रिय अध्यक्ष ऋषि धमलाले बागमती प्रदेशका पत्रकारहरुको हित हुने काम गर्न बागमती प्रदेश सरकारलाई सुझाव दिनुभयो । उहाँले पत्रकारहरुलाई विदेशिन होईन पत्रकारहरुलाई स्थापित गर्न प्रदेश सरकार लाग्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, बागमती प्रदेशका प्रदेश रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, रिपोर्टर्स क्लब नेपाल मकवानपुरका संस्थापक अध्यक्ष सविन न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरे, रिपोर्टर्स क्लब मकवानपुरका संस्थापक अध्यक्ष सविन न्यौपाने र एस्ट्रोनोभा फाउण्डेसन नेपालका किसन बास्तोला लगायतलाई सम्मान गरिएको थियो ।