मकवानपुर, १६ माघ । बागमती प्रदेशका दुग्ध उत्पादक किसान आन्दोलित भएका छन् । प्रदेश सरकारले दिँदै आएको अनुदान कटौती गरिएको र ‘मिल्क होलिडे’ समस्या समाधानमा चासो नदेखाएको भन्दै सोमबार किसानले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडामा तालाबन्दी गरेका हुन् ।

दुग्ध उत्पादक किसानलाई अनुदानबापत यसअघि ३० करोड रुपैयाँ विनियोजन गरेकोमा घटाएर ५ करोड रुपैयाँ मा झारेपछि मकवानपुरका दुग्ध किसानहरु आन्दोलित भएका हुन् ।

दुग्ध उत्पादक किसानलाई स्थानीय तहले नै अनुदान दिँदै आएको भन्दै दोहोरो अनुदान रोक्न प्रदेश सरकारले कार्यविधि बनाएर बजेटसमेत कटौती गरेको थियो । तर कतिपय स्थानीय तहले दुग्ध उत्पादक किसानका लागि अनुदानको व्यवस्था नगरेका कारण किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।