जी. न्यौपाने, मकवानपुर, २५ माघ । सडक अनुशासन तथा सवारी दूर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह २०८० को बिहीबार समुद्घाटन भएको छ । सप्ताहको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटनका दिन प्रभातफेरी गरिएको छ । जिल्ला प्रहरी कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी चौकिटोल ओरालो, मानसचोक, काँग्रेसचोक हुँदै रोयल प्यालेसमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, स्काउट, टोल विकास संस्था, सामुदायिक प्रहरी, प्रहरी र ट्राफिक प्रहरीहरुको सहभागिता रहेको थियो । सप्ताहव्यापी कार्यक्रम हप्ताभर विभिन्न कार्यक्रम गरी मनाईने बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले दुर्घटनाको भयवाह स्थिति झेल्नुपरिरहेको बताउनुभयो । उहाँले दैनिक ६५ वटा सवारी दुर्घटना, ७ जनाको मृत्यू र २५ जना घाईते हुने गरेको बताउनुभयो । दुर्घटना हुनुको कारण ट्राफिक नियम पालना नगर्नु, लागुऔषध सेवन गरी सवारी चलाउनु, सवारी साधन नियमित चेकजाँच नगराउनु, भौगोलिक अवस्था, साँघुरो र जिर्ण सडक भएको औँल्याउनुभयो । यस विषयमा सम्बन्धित सम्पूर्ण निकाय जिम्मेवार रहेको उहाँको भनाई थियो । सचेतनाका लागि जिम्मेवार निकायहरुसँगको छलफल, विद्यार्थीहरुको पाठ्यपुस्तकमा सवारी सम्बन्धी पाठ्यक्रम समावेश गरिनुपर्ने उहाँको धारणा थियो । उहाँले जोखिमयुक्त सडकहरुमा सिसिक्यामेरा जडान समेत गरिने बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सवारी दुर्घटना लापरवाहीले हुने गरेको बताउनुभयो । यस कुरामा नागरिक, ट्राफिक प्रहरी, प्रहरी, प्रशासन चनाखो हुनुपर्ने बताउनुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरिक्षक विष्णुकुमार केसीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मुख्य सचिव ध्रुव गैँडा, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।