जी. न्यौपाने, मकवानपुर, २७ माघ । मकवानपुरको हेटौँडामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी सोनाम ल्होछार पर्व मनाइएको छ । मञ्जुश्री सम्वत् २८६० डुक (मु, पुख्री ल्हो) मेघ वर्ष सोनाम ल्होछारको अवसरमा हेटौँडामा तामाङ समुदायसँगै अन्य समुदायहरुले विविध कार्यक्रमको आयोजना गरेका हुन् ।

यसैबिच सोनाम ल्होछारकै अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित ज्याङ छुबलिङ पोताला गुम्बाको आयोजनामा कार्यक्रम गरिएको छ । ड्रागन वर्षलाई स्वागत गरेको भन्दै एकअर्काबिचमा शुभकामना आदानप्रदान गरी मिठोमसिनो खाएर तामाङ सँस्कृति झल्कने पोषाक लगाएर विभिन्न साँस्कृतिक कार्यक्रम गरी ल्होछार मनाइएको हो ।

गुम्बा समितिले पनि ल्होछारको अवसरमा साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । गुम्बा समितिका अध्यक्ष लालकुमार थोकरको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित टिसिएन चौरमा ल्होछारकै अवसरमा शनिबार तामाङ साँस्कृतिक महोत्सव आयोजना भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा तामाङ कलाकार संघ मकवानपुरको समन्वयमा महोत्सव भएको हो ।

महोत्सवमा तामाङ भेषभुषा र मौलिक खानाका परिकारहरुको प्रदर्शनी, लामा बोम्बोसहितको र्याली तथा झाँकी प्रदर्शनका साथै चर्चित कलाकारहरुले साँगितिक प्रस्तुति दिएका थिए ।