मकवानपुर, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले ३३ औँ स्थापना दिवस मनाएको छ । आईतबार आयोगको हेटौँडा कार्यालयले कार्यालय प्राङ्गणमा गरेको कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख शर्माले भ्रष्टाचार न्यूनिकरणमा हामी सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको मामलामा हाम्रो देश नेपाललाई उच्च भ्रष्टाचार हुने देशहरुमा राखिएकोले सच्चिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले सुशासन कायम गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर राजेन्द्रमान श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, प्रदेश मन्त्रालयका सचिवहरु एवम् विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।