जी. न्यौपाने, मकवानपुर, १ फागुन । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर वेदुराम भुसालले कृषिमा नेपालले कुनै देशसँग पनि प्रतिस्पर्धा गर्नुनपर्ने बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिकाको ५५ औँ नगर स्थापना दिवस कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले खेतिपाति, पशुपालन र मत्स्यपालनको लागि नेपाल उत्कृष्ट ठाउँ रहेको बताउनुभयो । यी क्षेत्रहरुमा काम गर्न सके नेपाललाई आत्मनिर्भर हुन दुःख नहुने उहाँको भनाई थियो । नेपालले औद्योगिक क्षेत्रमा धेरै देशहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले समस्या भएको र औद्योगिक क्षेत्रबाट नेपालमा आर्थिक उन्नति हुन्छ भन्नु त्यत्ति धेरै मुनाशिव नभएको उहाँको आशय थियो ।

हामीले दैनिक उपभोग गर्ने दाल, चामल, तरकारी, पिठो आफै उब्जनी गर्न सके खानलाउन दुःख नहुने उहाँले दाबी गर्नुभयो ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत विभिन्न सरकारी गैरसरकारी संस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।